Saturday, December 11, 2010

'धर्मा'को जबर्जस्त ओपनिङ

एउटा संयोग -शुक्रबार विश्व भ्रष्टाचारविरुद्धको दिवस मनाइँदै गर्दा भ्रष्टाचारविरुद्ध बनेको नेपाली सिनेमा 'धर्मा' रिलिज भएको छ । मनिषा कोइराला र राजेश हमाल स्टारर यो चलचित्रले शुक्रबारै मध्य र पश्चिम नेपालका ३७ थिएटरबाट जबर्जस्त उत्साहजनक ओपनिङ थालेको छ ।

डिजिटल सिनेमा नेपाल र प्रदर्शक हलहरुका अनुसार उपत्यका र मोफसलस्थित सिनेमा घरहरु 'धर्मामय' छन् । 'विहान चिसो भएपनि मध्यान्ह र अपरान्हका सोहरु हाउसफूल छन्' डीसीएन डि्ष्ट्रिब्यूसन चिफ दीपक दंगालले भने 'प्रारम्भिक विवरणहरु राम्रो आइरहेको छ ।'

निर्देशक दीपेन्द्र के. खनालले बालाजुस्थित अष्टनारायण हलमा दर्शकसँगै सिनेमा हेरे । 'हाउसफूल हलमा दर्शकसँगको हेराइ रोमान्चक लाग्यो' दीपेन्द्र भन्दै थिए 'ताली र सिठीसँगै दर्शकहरु रमाइरहेका छन् । ताली र सिठी नबजेको दृश्य नै छैन ।' किउएफएक्स कुमारी मल्टिप्लेक्समा 'धर्मा' ओपनिङ उत्साहजनक रह्यो । 'हाम्रा सबै सोमा दर्शकहरु ओइरिएका छन्' कुमारीकी नानु प्याकुरेलले भनिन् 'नेपाली फिल्मले यत्तिको ओपनिङ गर्नु खुशिको कुरा हो ।'

आफ्नो हलका दुवै सो हाउसफूल रहेको जानकारी गोपीकृष्ण मूभिजका पदम श्रेष्ठले दिए । ललितपुरस्थित गुण मल्टिप्लेक्सका महेश शाक्यले पनि दर्शकहरु आइरहेको र ओपनिङ उत्साहजनक रहेको बताए । उपत्यकाभन्दा मोफसलमा 'धर्मा' ओपनिङ राम्रो छ । पोखराको मल्टिप्लेक्स बाराहीका केशव केसीका अनुसार उनको हलमा चलचित्रले ७५ प्रतिशत ओपनिङ गरेको छ । 'फर्मुला मूभी भएकाले अर्को सातासम्म पनि फिल्मले पिकअप लिने सम्भावना छ' केसीले भने ।

सृष्टि सिनेमा नेपालगन्जका रामकृष्ण शर्माले पनि आफ्नो हलमा 'धर्मा'ले दमदार ओपनिङ गरेको बताए । 'गोर्खापल्टनलाई हाम्रो हलमा धर्माले पछ्याउँदैछ' हल म्यानेजर शर्माले मेरोसिनेमासँग भने 'फिल्म हेरेर निस्कँदा दर्शकहरु रोमान्चित नभएको अनुहार छैन ।' ओम चलचित्र मन्दिर हेटौंडाका संचालक तथा वितरक नरेन्द्र महर्जनले पनि आफ्नो हलमा 'धर्मा' हाउसफूल रहेको जनाए । कालिगण्डकी सिनेमा घर बागलुङका संचालक नवीन खड्काका अनुसार उनको हल पनि हाउसफूल छ ।

पोखरामा मनिषाको प्रतिक्षा
चलचित्र 'धर्मा'का दर्शकहरुले पर्यटकीय नगरी पोखरामा अभिनेत्री मनिषा कोइरालाको प्रतिक्षा गरिरहेका छन् । पोखरास्थित हाम्रा संवाददाता विजय नेपाल लेख्छन् -'यहाँका दर्शकहरु कमब्याक हिरोइन सँगै बसेर फिल्म हेर्न चाहन्छन् ।' पोखराको बाराही मल्टिप्लेक्समा 'धर्मा'ले जबर्जस्त ओपनिङ गरेको पनि उनले जनाए ।

'धर्मा' टीम शनिबार पोखरा पुग्ने कार्यक्रम छ । मनिषा पब्लिसिटीका लागि आतुर छिन् । उनी अर्को साता पूर्व रिलिज क्रममा गृहनगर विराटनगरमा प्रमोसन गर्न पुग्न चाहन्छिन् । आफू अभिनित चलचित्रले उत्साहजनक ओपनिङ गरेपछि मनिषाले आफू औधी खुशि भएको प्रतिकि्रया दिएकी छिन् । 'किनभने यो मेरा लागि हर्षको क्षण हो' मेरोसिनेमासँग बलिउड अभिनेत्रीले भनिन् ।
emai